नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै, केही दिन निःशुल्क सञ्चालन गरिने।

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का उच्च अधिकारीहरूको उपस्थितिमा सुरुङमार्ग उद्घाटन हुने कार्यक्रम रहेको छ । उद्घाटनपछि निर्माण कम्पनीले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

कार्यक्रमअनुसार उद्घाटनपछि मन्त्री, जापानी राजदूत र जाइकाका अध्यक्षले सुरुङमार्गभित्र सवारी चलाएर औपचारिक रूपमा सञ्चालनको शुभारम्भ गर्नेछन् । प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेश दिइनेछ। केही दिन सुरुङमार्गको पूर्ण परीक्षण गरिएपछि सबै वर्गका सवारीसाधन सञ्चालन गर्न अनुमति दिइनेछ । परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने सडक विभागले जनाएको छ ।

कुल दुई हजार ६ सय ८८ मिटर लामो सुरुङमार्ग सञ्चालनमा आएपछि कार, भ्यान, बस र ट्रकले तोकिएको शुल्क तिर्नुपर्नेछ । तर पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा पेट्रोल, डिजेल, ग्यास वा अन्य प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ ।

आयोजनामा मुख्य सुरुङ र उद्धार सुरुङ गरी दुई वटा सुरुङ निर्माण गरिएको छ। सुरुङभित्र सिसीटिभी, सञ्चार प्रणाली, दमकल, आकस्मिक उद्धार सेवा, अक्सिजन आपूर्ति तथा अन्य सुरक्षा प्रणालीको व्यवस्था गरिएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोकबाट सुरु हुने यो सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका स्थित सिस्नेखोलामा पुगेर टुङ्गिन्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि हालको घुमाउरो र उकालो सडकको विकल्प उपलब्ध हुने तथा यात्रुको करिब एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ ।

Facebook Comments Box