जापानिज इन्सेफ्लाइटिसबाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौँ, ७ पुस – लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिसका कारण यस वर्ष देशभर ३५ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार १ हजार ७३९ जनामा संक्रमण पुष्टि भएकामा ३५ जनाको ज्यान गएको हो।

खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार सबैभन्दा बढी मृत्यु लुम्बिनी प्रदेशमा भएको छ, जहाँ ११ जनाले ज्यान गुमाएका छन्। संक्रमितमध्ये ९१ प्रतिशतले जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप नलगाएको पाइएको छ।

प्रदेशगत रूपमा कोसीमा ४१९, मधेसमा २३६, बागमतीमा २८८, गण्डकीमा २०६, लुम्बिनीमा २६७, कर्णालीमा १४२ र सुदूरपश्चिममा १५८ जनामा संक्रमण देखिएको छ।

डा. गौतमका अनुसार नेपालमा सन् २०१४ देखि देखिन थालेको यो रोगबाट सन् २०२३ यता मृत्युदर बढ्दै गएको छ। सन् २०२३ पछि मात्रै ११७ जनाको मृत्यु भइसकेको र मृतक अधिकांश ४० वर्षभन्दा माथिका खोप नलगाएका व्यक्ति रहेको उनले बताए।

साउन र भदौ महिनामा बढी देखिने जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। यो लामखुट्टे राति मात्र टोक्ने र धानखेत, सुँगुर तथा हाँस पालन गरिने स्थानमा बढी पाइने गर्छ।

संक्रमित लामखुट्टेले टोकेपछि उच्च ज्वरो आउने, मुर्छा पर्ने, शरीर अनियन्त्रित हुने, मांसपेशी कमजोर हुने तथा पक्षघातजस्ता लक्षण देखिने चिकित्सकले बताएका छन्।

सरकारले सन् २०१५ देखि जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। हाल यो खोप नियमित राष्ट्रिय खोप तालिकाअन्तर्गत १५ महिनामुनिका बालबालिकालाई लगाइँदै आएको छ।

Facebook Comments Box