साउनको दोस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो।

काठमाडौँ, ११ साउन – साउन महिनाको दोस्रो सोमबारका अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनार्थीका लागि खोलिएको छ। साउने झरीका बीच पनि भक्तजनहरू बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

कोषले श्रद्धालुका लागि सहज, सुरक्षित र व्यवस्थित दर्शनको व्यवस्था मिलाएको जनाएको छ। दर्शन व्यवस्थापनमा कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संस्थाहरू परिचालन गरिएका छन्।

कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार साउनको सोमबार दर्शन गर्न आउने लाखौँ भक्तजनलाई सहज र मर्यादित वातावरणमा पूजा तथा दर्शन गराउने तयारी गरिएको छ। मन्दिरका चारै ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछन् भने विशेष पूजा बिहान साढे ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।

दर्शनका लागि चार वटा लामको व्यवस्था गरिएको छ। बिहानैदेखि भक्तजनको आगमन भए पनि अत्यधिक भीड भने नरहेको कोषले जनाएको छ। दर्शनार्थीका लागि प्राथमिक उपचारसहित आवश्यक सबै सेवा व्यवस्थापन गरिएको छ। पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेव लगायत काठमाडौं उपत्यकाका विभिन्न शिव मन्दिर तथा देशभरका शिवालयमा पनि श्रद्धालुहरू बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि पुगेका छन्।

Facebook Comments Box