आज देशभर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता

काठमाडौँ, ६ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ ।

आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि प्रकारको तडकभडक नगर्न, शान्तिपूर्ण र मर्यादित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ । भीडभाड व्यवस्थापन गर्न र प्रक्रिया सहज बनाउन आयोगले प्रमुख राजनीतिक दल र उम्मेदवारका लागि उम्मेदवारी दर्ताको समयसमेत तोकेको छ ।

आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक प्रणालीबाट ११० र प्रत्यक्ष प्रणालीबाट १६५ सदस्य निर्वाचित हुने व्यवस्था छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको आयोगले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलले आज बिहानसम्म उम्मेदवार टुंग्याउने जनाएका छन् । नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भने सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।

एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलले उम्मेदवारलाई आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन् । आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ । उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको उल्लेख गर्दै आज उत्साहपूर्ण वातावरणमा उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौमा भएको आन्दोलनका कारण विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

Facebook Comments Box