आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने

काठमाडौँ, ११ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानको आसपासमा रहेको छ। हाल हिमाली र पहाडी भूभागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली छ। कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति पनि देशभर सामान्य बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

Facebook Comments Box