दसैंमा सहज यात्रा : नागढुङ्गा सुरुङमार्गबाट सार्वजनिक सवारी बाहिरिन पाउने
काठमाडौँ, ४ असोज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दसैंलाई लक्षित गर्दै यातायात व्यवस्थापन सहज बनाउन निर्देशन दिएका छन्। मन्त्रालयमा शुक्रबार सरोकारवालासँग भएको छलफलपछि उनले यात्रुवाहक सवारीसाधनको सुचारु आवागमन र सडक सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।
मन्त्री घिसिङले २४ घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिने, गुनासो सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। साथै, बाढी–पहिरोका कारण अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन समेत सम्बद्ध निकायलाई निर्देशन गरिएको छ।
छलफलमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सार्वजनिक सवारीसाधनलाई नागढुङ्गा–सिस्नेरी सुरुङमार्गमार्फत बाहिर जाने व्यवस्था मिलाउने र दसैंपछि त्यस्ता सवारीसाधनलाई प्रवेश गर्न समेत दिने निर्णय भएको घिसिङको सचिवालयले जनाएको छ।
बैठकमा मुलुकभरको सडक तथा सुरक्षालाई लक्षित गर्दै यी निर्णयहरू भएका छन्:
-
नयाँ बसपार्क र प्रमुख राजमार्गमा प्रहरी गस्ती र प्रहरी संख्या बढाउने
-
बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैं अवधिभर १२ चक्केभन्दा माथिका ठूला सवारी सञ्चालन नगर्ने
-
खाद्यान्नलगायत अत्यावश्यक सामान ढुवानीका गाडीलाई अवरोध नगर्ने
-
नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा भएको पहिरो तत्काल हटाउने
-
तातोपानी नाकासम्मको मुख्य सडक दसैंअघि सञ्चालनमा ल्याउने
-
सडक विभागमा २४ घण्टा सक्रिय ‘फोकल पर्सन’ तोक्ने र सडक अवस्थाबारे नियमित सूचना दिने
सरकारले नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। बैठकमा मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रतिनिधि र यातायात व्यवसायी महासंघका पदाधिकारीहरूको उपस्थिति थियो।

