वर्षा र पहिरोले ११ सडकखण्ड प्रभावित, प्रमुख राजमार्ग अवरुद्ध

काठमाडौँ,  ९ साउन – अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ बजेसम्म ११ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ। प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमका कारण साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

यस्तै, इलामको मेची राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, दोलखाको लामासाँघु–रामेछाप सडक, रसुवाको पासाङल्हामु तथा त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडक, बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराही–थवाङ सडक र रुकुम पश्चिमको भेरी करिडोर सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

यसैगरी, भोजपुर र खोटाङमा मध्यपहाडी लोकमार्गका केही खण्डमा बाढी र पहिरोका कारण एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम अझै कायम रहेको भन्दै यात्रा अघि सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Facebook Comments Box