गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा
जनकपुरधाम, ९ साउन – गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सङ्कलन गरी परीक्षण गरिएका खाद्य नमुनामा कैफियत देखिएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको हो।
कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका सात, सर्लाही र रौतहटका तीन तथा धनुषाका एक उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ। साथै, सप्तरी, सिरहा र धनुषाका थप पाँच उद्योगी–व्यवसायीविरुद्ध पनि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।
अनुगमनका क्रममा खाद्य पदार्थमा स्वास्थ्यका लागि हानिकारक मिसावट, म्याद गुज्रिएका वस्तुको बिक्री तथा गुणस्तर मापदण्ड उल्लङ्घन भएको पाइएपछि कारबाही गरिएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा मधेस प्रदेशबाट चार हजार ५ सय ५९ खाद्य नमुना परीक्षण गरिएकामध्ये ३५ नमुनामा प्रतिकूल नतिजा आएको थियो। त्यस्तै, ५ सय १० वटा फलफूल तथा तरकारीमा विषादी परीक्षण र ३ सय १० वटा स्वच्छता सर्भिलेन्स गरिएको छ।
अनुगमनका क्रममा धनुषाका १२ होटल तथा रेष्टुरेन्टलाई चार लाख २० हजार रुपैयाँ र सर्लाहीका १७ होटललाई छ लाख ६७ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ। साथै, म्याद गुज्रिएका, लेबल नभएका र अखाद्य वस्तु जफत गरी नष्ट गरिएको पनि कार्यालयले जनाएको छ।

