बाँकेमा धान रोपाइँ यान्त्रिक बन्दै, गोरु–राँगाको ठाउँ ट्याक्टर र पावर टिलरले लियो
नेपालगन्ज, ६ साउन – बाँकेमा धान रोपाइँसँगै देखिने गोरु–राँगाले खेत जोत्ने परम्परागत दृश्य अहिले लगभग हराइसकेको छ। समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनका कारण किसानहरू ट्याक्टर र पावर टिलरको प्रयोगतर्फ आकर्षित भएका छन्। जिल्लाका अधिकांश खेतमा अहिले गोरु वा राँगाको सट्टा ट्याक्टर र पावर टिलर प्रयोग गरेर खेत जोत्ने क्रम बढेको छ। यसले खेती गर्न लाग्ने समय घटाउनुका साथै रोपाइँको काम छिटो र सहज बनाएको किसानहरू बताउँछन्।
जानकी गाउँपालिका–३ कर्मनाका किसान सुन्दर खटिकले विगत केही वर्षदेखि ट्याक्टरको प्रयोग गरेर धान रोप्दै आएको बताउनुभयो। यस वर्ष पनि दुई बिघा अधियामा खेती गर्दै उहाँले प्रतिघण्टा दुई हजार पाँच सयदेखि तीन हजार रुपैयाँसम्म तिरेर ट्याक्टरबाट खेत जोताएको जानकारी दिनुभयो।
उहाँका अनुसार अधिकांश किसानका घरमा अहिले गोरु वा राँगा नरहेकाले ट्याक्टर र पावर टिलर नै खेत जोत्नको मुख्य विकल्प बनेका छन्। तर, मलखाद, कृषि मजदुरको पारिश्रमिक र कृषि उपकरणको भाडा बढ्दै जाँदा धानखेतीको लागत पनि वर्षेनि बढिरहेको उहाँको भनाइ छ। खटिकले समयमै रासायनिक मल उपलब्ध नहुँदा उत्पादनमा असर पर्ने चिन्ता व्यक्त गर्दै साना तथा न्यून आय भएका किसानलाई सहुलियत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले जिल्लामा कृषि यान्त्रिकीकरण तीव्र रूपमा विस्तार भइरहेको बताउनुभयो। उहाँका अनुसार किसानहरूले गोरु–राँगा पाल्ने क्रम घटेसँगै खेत जोत्न ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक बनेको छ। उहाँले स्थानीय तहहरूले पनि किसानलाई हाते ट्याक्टर, पावर टिलरलगायत कृषि उपकरण वितरण गर्दै आएकाले आधुनिक कृषि प्रविधिको प्रयोग बढेको उल्लेख गर्नुभयो। हालसम्म बाँकेमा करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।
सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने वर्षाको भरमा खेती हुने क्षेत्रमा अझै रोपाइँ जारी रहेको छ। कोहलपुर, बैजनाथ र राप्तीसोनारीका अधिकांश क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ। नेपालगन्ज उपमहानगरपालिका–१७ का किसान जैनुल शेखले करिब १२ वर्षयता खेतमा गोरु वा राँगाले जोतेको दृश्य नदेखिएको बताउनुभयो।
उहाँका अनुसार अहिले अधिकांश किसानले ट्याक्टर र पावर टिलर प्रयोग गर्दै आएका छन्। यस वर्ष ‘राम’ जातका धानसँगै हाइब्रिड धानको खेती पनि उल्लेख्य रूपमा बढेको उहाँले जानकारी दिनुभयो। उहाँले रोपाइँ गर्ने कृषि मजदुरको ज्याला पनि बढेको उल्लेख गर्दै हाल दैनिक ६०० देखि ९०० रुपैयाँसम्म पारिश्रमिक दिनुपर्ने अवस्था रहेको बताउनुभयो।
कृषि ज्ञान केन्द्र बाँकेकी कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माका अनुसार प्रदेश सरकार स्थापना भएयता ५० प्रतिशत अनुदानमा जिल्लामा १८० वटा पावर टिलर, थ्रेसरलगायत कृषि उपकरण वितरण गरिएको छ। उपकरण वितरणसँगै सञ्चालन र मर्मतसम्बन्धी क्षमता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन भइरहेको उहाँले बताउनुभयो।
कृषि ज्ञान केन्द्रका अनुसार बाँकेको ५५ हजार ८२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ७८० हेक्टरमा धान खेती हुने गरेको छ। हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ।

