पछिल्लो २४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु
काठमाडौँ, ६ साउन – पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्म देशका ५२ जिल्ला विभिन्न विपद्का घटनाबाट प्रभावित भएका हुन्।
प्राधिकरणको विवरणअनुसार उक्त अवधिमा १७ वटा पहिरो, १० वटा अविरल वर्षा, आठ वटा सर्पदंश, सात वटा आगलागी, छ वटा बाढी, दुई वटा भूकम्प तथा एक–एक वटा चट्याङ र जनावर आक्रमणका घटना भएका छन्। यी घटनाबाट करिब १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। विपद्का कारण देशका सात स्थानमा सडक अवरुद्धसमेत भएका थिए।
मनसुन सक्रिय रहेकाले आगामी दिनमा बाढी र पहिरोको जोखिम अझै कायम रहने भन्दै प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रको यात्रा नगर्न, यात्रा गर्नुपरे मौसमसम्बन्धी जानकारी लिएर मात्र निस्कन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ।

