अण्डाको मूल्य बढ्यो, किसान अझै लागत मूल्यभन्दा तल

चितवन, ६ साउन  – बर्डफ्लुको प्रभावका कारण केही समय लगातार घटेको अण्डाको मूल्य पुनः बढ्न थालेको छ। उत्पादनमा कमी र बजारमा माग बढेपछि मूल्यमा सुधार देखिए पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य पाउन सकेका छैनन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको फार्म मूल्य बढाएको छ।

सङ्घका अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ, मध्यम अण्डाको ४२० रुपैयाँबाट ४७० रुपैयाँ तथा सानो अण्डाको ३६५ रुपैयाँबाट ४१५ रुपैयाँ कायम गरिएको छ। यससँगै सबै आकारका अण्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँले वृद्धि भएको छ। सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा उल्लेख्य कमी आएको छ।

यसअघि दैनिक करिब ४५ लाख वटा अण्डा उत्पादन हुँदै आएकामा हाल उत्पादन घटेर करिब २८ लाख वटामा सीमित भएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार जेठको अन्तिमतिर प्रतिक्रेट ५५० रुपैयाँसम्म पुगेको अण्डाको मूल्य पछि घटेर ४५० रुपैयाँमा झरेको थियो। पछिल्लो समय बजारमा खपत बढ्न थालेपछि मूल्यमा सुधार आएको हो।

यद्यपि हाल कायम गरिएको मूल्य पनि उत्पादन लागतभन्दा कम रहेको अध्यक्ष पोखरेलले बताउनुभयो।  उहाँका अनुसार एक क्रेट अण्डा उत्पादन गर्न करिब ५७३ रुपैयाँ ६० पैसा लागत पर्ने भएकाले किसान अझै घाटामै रहेको अवस्था छ। बर्डफ्लुका कारण कुखुरापालक किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले प्रभावित किसानलाई राज्यले राहत उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, बजारमा माग बढ्दै गएकाले आगामी दिनमा अण्डाको मूल्य लागत बराबर पुग्ने अपेक्षा किसानले गरेको उहाँको भनाइ छ।

Facebook Comments Box