कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, ६ साउन – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।
बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। हिमाली क्षेत्रमा केही स्थानमा हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।
विशेषगरी बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्र तथा कोशी र लुम्बिनीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। रातिको समयमा पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित मधेस, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम अद्यावधिक सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ

