मनसुन सक्रिय, आज विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौँ, ३ साउन  – देशभर मनसुनको प्रभाव थप सक्रिय बनेसँगै आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही प्रदेशमा भारीदेखि अति भारी वर्षा हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली, पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ भने कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराईका अधिकांश स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भन्दै नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

Facebook Comments Box