बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ३ साउन  – देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमानसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाका अनुसार नदीमा पानीको बहाव बढेर बाढीको जोखिमपूर्ण अवस्था सिर्जना भएमा आज कोशी ब्यारेजका ढोका क्रमिक रूपमा खोलिने तयारी गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले नदीहरूको जलप्रवाहको निरन्तर निगरानी भइरहेको जानकारी दिँदै हाल २१ जिल्लामा मध्यम तहको बाढी जोखिम रहेको बताउनुभयो। सम्भावित विपद्लाई मध्यनजर गर्दै प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी अघि बढाएको जनाएको छ।

प्राधिकरणले स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिँदै नदी तटीय क्षेत्र र पहिरोको जोखिम रहेका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न, नदी किनारमा नजान तथा यात्रा गर्दा मौसम र सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्राधिकरणले अनुरोध गरेको छ।

Facebook Comments Box