दाइजो हत्याका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम, २ साउन  – दाइजोको विषयलाई लिएर महिलाको हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले घटना भएको करिब १८ वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी ६० वर्षीय रामनाथ रायलाई शुक्रबार पक्राउ गरिएको हो। उनी सोही स्थानकी २५ वर्षीया चन्द्रिकादेवी रायको हत्या प्रकरणमा फरार रहेका अभियुक्त हुन्।

प्रहरीका अनुसार विसं २०६५ साल भदौ ३ गते बिहान दाइजोको विषयलाई लिएर चन्द्रिकामाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएकी चन्द्रिकाको प्रारम्भिक उपचार भारतको बिहार राज्यको पटनामा गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका रामनाथ रायलाई खोजी गर्ने क्रममा आफ्नै गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो। प्रहरीले घटनामा संलग्न अन्य फरार अभियुक्तको खोजी जारी रहेको तथा पक्राउ परेका रामनाथ रायमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments Box