देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
काठमाडौँ, १ साउन – देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने अवस्था बनेको हो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, साथै कोशी र मधेस प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातसमेत हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले पहाडी भूभाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस र कोशी प्रदेशका पहाडी तथा तराईका साथै कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च हिमाली भेगमा वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थान, कोशी र बागमतीका हिमाली क्षेत्र, कोशी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनीको तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय तथा पहिरो जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। साथै, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सबैलाई सचेत रहन आग्रह गरिएको छ।

