कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायम, सतर्कता बढाइयो
कञ्चनपुर, १ साउन – कञ्चनपुरमा चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी नदेखिए पनि गत वर्ष रोगसँग मिल्दोजुल्दो लक्षण भएका सात जना बिरामी फेला परेपछि स्वास्थ्य कार्यालयले निगरानी र जनचेतनामूलक अभियानलाई तीव्र बनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार लक्षण देखिएका सात जनामध्ये केही स्थानीय बासिन्दा र केही भारतबाट रोजगारी गरेर फर्किएका व्यक्ति थिए। उनीहरूको लक्षणका आधारमा उपचार गरिएको थियो। यस वर्ष भने हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका छैनन्।
स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले लामो समयपछि यस्ता लक्षण देखिनुले जिल्लामा रोगको जोखिम अझै कायम रहेको संकेत गरेको बताउनुभयो। उहाँका अनुसार स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरी समुदायमा रोगका लक्षण, बच्ने उपाय र समयमै उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने विषयमा सचेतना फैलाउने काम भइरहेको छ।
जापनिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कमा असर गर्ने गम्भीर भाइरल रोग हो। धानखेत, पानी जम्ने स्थान, दलदली क्षेत्र तथा सुँगुर र हाँसपालन हुने ठाउँ वरपर यस्ता लामखुट्टे बढी पाइन्छन्। सङ्क्रमित सुँगुर वा जलचर चराको रगत चुसिसकेको लामखुट्टेले मानिसलाई टोकेपछि भाइरस सर्ने भए पनि यो रोग मानिसबाट मानिसमा प्रत्यक्ष सर्दैन।
भट्टका अनुसार धेरैजसो सङ्क्रमितमा कुनै लक्षण नदेखिन सक्छ। तर रोग गम्भीर बनेमा उच्च ज्वरो, असह्य टाउको दुखाइ, बान्ता, घाँटी कडा हुने, शरीरमा झट्का लाग्ने, बेहोस हुने, मानसिक अवस्था परिवर्तन हुने तथा मस्तिष्क सुन्निने समस्या देखिन सक्छ। विशेषगरी बालबालिका र वृद्धवृद्धामा यसको असर बढी गम्भीर हुने र समयमै उपचार नपाए स्थायी अपाङ्गता वा मृत्युको जोखिमसमेत रहने उहाँले बताउनुभयो।
हालसम्म यस रोगको भाइरस नष्ट गर्ने विशेष औषधि उपलब्ध नभएकाले बिरामीको अवस्थाअनुसार ज्वरो नियन्त्रण, सास फेर्न सहयोग तथा अन्य सहायक उपचार गरिने स्वास्थ्यकर्मीको भनाइ छ। स्नायु प्रणालीसँग सम्बन्धित कुनै पनि असामान्य लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरिएको छ।
स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार कञ्चनपुरको कृषि प्रणाली र भौगोलिक अवस्था क्युलेक्स जातका लामखुट्टेको प्रजननका लागि अनुकूल भएकाले मनसुनका बेला सङ्क्रमणको जोखिम बढ्ने गर्छ। धानखेती, पानी जम्ने क्षेत्र तथा सुँगुर र हाँसपालन हुने स्थानका कारण लामखुट्टेको सङ्ख्या वृद्धि हुने उहाँले बताउनुभयो।
रोगबाट बच्न झुल प्रयोग गर्ने, बिहान–साँझ पूरा शरीर ढाक्ने कपडा लगाउने, लामखुट्टे भगाउने औषधि प्रयोग गर्ने, घर वरिपरि पानी जम्न नदिने, पशुचौपाया राख्ने स्थान सफा राख्ने तथा सरकारले सञ्चालन गर्ने जापनिज इन्सेफ्लाइटिसविरुद्धको खोप कार्यक्रममा सहभागी हुन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
नेपालमा हाल २४ जिल्ला जापनिज इन्सेफ्लाइटिस प्रभावित जिल्लाका रूपमा सूचीकृत छन् भने अन्य करिब ४० जिल्लामा पनि विभिन्न समयमा छिटपुट सङ्क्रमणका घटना देखिएका छन्। जलवायु परिवर्तन, मनसुन र लामखुट्टेको बढ्दो प्रजननका कारण कञ्चनपुरमा रोगको जोखिम अझै कायम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

