तीन महिनामा ३,२९६ विपद्का घटना, १६० जनाको मृत्यु

काठमाडौँ, १ साउन – देशभर पछिल्ला तीन महिनामा विभिन्न प्रकारका ३ हजार २९६ विपद्का घटना भएका छन्। ती घटनामा १६० जनाको मृत्यु, दुई जना बेपत्ता र ९४५ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्म भएका विपद्का घटनाबाट ४ हजार ३७५ परिवार प्रभावित भएका छन्।

प्राधिकरणको विवरणअनुसार सबैभन्दा बढी ८९७ वटा आगलागीका घटना भएका छन्। आगलागीमा १७ जनाको मृत्यु, १०९ जना घाइते तथा ९९० परिवार प्रभावित भएका छन्। यस अवधिमा ५१४ वटा सर्पदंशका घटनामा ३८ जनाको मृत्यु, ४७९ जना घाइते र ५१७ परिवार प्रभावित भएका छन्। त्यस्तै, ४७७ वटा हुरीका घटनामा १३ जनाको मृत्यु, ६८ जना घाइते तथा १ हजार ३५६ परिवार प्रभावित भएका छन्।

प्राधिकरणका अनुसार ४३३ वटा पहिरोका घटनामा १२ जनाको मृत्यु, १५ जना घाइते र ३५१ परिवार प्रभावित भएका छन्। २२३ वटा चट्याङका घटनामा २४ जनाको मृत्यु, १२० जना घाइते तथा २६२ परिवार प्रभावित भएका छन्। यस्तै, वन्यजन्तुको आक्रमणका १८१ घटनामा १७ जनाको मृत्यु, १०३ जना घाइते र २८७ परिवार प्रभावित भएका छन्।

१६१ वटा बाढीका घटनामा नौ जनाको मृत्यु, दुई जना बेपत्ता, नौ जना घाइते तथा ३९६ परिवार प्रभावित भएका छन्। साथै, १५३ वटा भारी वर्षासम्बन्धी घटनामा चार जनाको मृत्यु, एक जना घाइते र १३२ परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार लेक लाग्ने (हाइपोथर्मिया/उच्च हिमाली क्षेत्रको स्वास्थ्य समस्या) ५५ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३५ जना अझै अस्वस्थ छन्।

ढुङ्गा खसेर भएको एक घटनामा दुई जनाले ज्यान गुमाएका छन्। यसैगरी, तीन महिनामा १९१ वटा वन डढेलोका घटनामा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्। दुई वटा हिउँपहिरोका घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणले जनाएको छ।

Facebook Comments Box