आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न क्रिकेट टोलीको बिदाइ

काठमाडौँ, ३१ साउन – आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघले बुधबार एक कार्यक्रम गरेर मलेसिया जाने टोलीको बिदाइ गरेको हो।

‘हामीले पछिल्लो समय खेल खेलिरहेका छौँ। विश्वकप छनोटअघि दुई सिरिज खेलेर आएयौँ। ब्याटिङ कोच आउनुभएको छ। जसरी फिटनेसमा काम गर्दै तयारी गरेका छौँ।

त्यसैले सुखद नतिजा आउने आशामा छु’, कप्तान रुविना क्षत्री बेलवासेले भनिन्, ‘पछिल्लो समय लयमा छौँ, खेलाडीमा केही गर्ने जोश छ। ब्याटिङ अर्डरमा पनि काम भइरहेको छ। ब्याटिङ कोचको निर्देशनअनुसार काम गरिरहेका छौँ। अब देखाउने बेला आएको छ।’

उनले नेपाललाई जिताउने गरी खेल्ने बताउँदै यो पटक धेरै प्रेसर रहेको सुनाइन्। ‘व्यक्तिगत रुपमा पनि राम्रो गुर्नछ, पुरुष टोलीले राम्रो नतिजा ल्याइराखेको भएर पनि केही दबाब छ’, उनले भनिन्।

नेपाली टोलीले पहिलो पटक ब्याटिङ प्रशिक्षक पाएको छ। त्यसैले पनि नेपाली टोली केही उत्साहित छ। एसिया क्षेत्र छनोट आफूहरुको भविष्य निर्धारण गर्ने भएकाले सबैजना सिरियस भएर काम गरिरहेको अलराउण्डर सीता रानाले बताइन्।

‘ छनोटअघि नेपालले खेल्ने ५ खेलले हाम्रो स्तर थाहा हुनेछ। विपक्षीबारे पनि धेरै थाहा हुनेछ’, खेल जीवनको उत्तरार्द्ध रहेकी सीताले भनिन्, ‘अन्तिम समयमा देशका लागि केही गरेर जान पाए हुन्थ्यो।’ सिरिजअघि नेपाली टोलीले ५ अभ्यास खेल खेल्नेछ।

छनोटअघि नेपालले घरेलु टोली मलेसिया, कुवेत र हङकङसँग टी-२० आई सिरिज खेल्नेछ। नेपालले भदौ ५ गते हङकङ ६ गते कुवेत र ८ गते मलेसियासँग खेल्ने तालिका छ।

चार देशबीच शीर्ष २ मा रहन सके नेपालले भदौ ९ गते फाइनल खेल्नेछ। पुछारका अन्य दुई टोलीले सोही दिन तेस्रो र चौथो स्थानका लागि खेल्नेछन्। यो सिरिजपछि नेपाली टोलीले भदौ ११ गते थाइल्याण्डसँग अभ्यास खेल्नेछ।

टोलीका प्रशिक्षक श्यामसम जगं रानाले यो छनोट आफूहरुका लागि निकै महत्वपूर्ण रहेको बताए। ‘जुनियर र सिनियरको राम्रो कम्बिनेसन रहेकाले सुखद नतिजा आउने आशामा छौँ,’, उनले भने, ‘सिरिजअघि मलेसियामै अभ्यास खेल र अर्को सिरिज महत्वपूर्ण छ।’

एसिया क्षेत्र छनोट भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुनेछ। समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

नेपालले पहिलो खेलमा भदौ १४ गते मलेसियासँग खेल्नेछ। १५ गते बहराइन, १७ गते भुटान, १८ गते कतार र २० गते यूएईसँग खेल्ने तालिका छ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल भदौ २२ गते हुनेछ। फाइनल खेल २३ गते हुनेछ। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।

एसिया क्षेत्र छनोटका लागि रुविना क्षत्रीको कप्तानीमा तिन नयाँ खेलाडीलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा भइसकेको छ। टोलीमा युवा अलराउन्डर पूजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोलले पहिलो पटक स्थान बनाएका हुन्।

Facebook Comments Box