सप्तरीमा कोशी पम्प नहरको बाँध भत्कियो, धानबालीसहित खेतीयोग्य जमिन डुबानमा
सप्तरी, असार २९ – सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पानी खेतमा पस्दा धानबालीसहित ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।स्थानीयका अनुसार बाँध भत्किएसँगै करिब दुई बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ। खेतमा रोपिएको धानबालीमा समेत क्षति पुगेपछि किसान चिन्तित बनेका छन्।
स्थानीय नेना सचिदानन्द यादवले डुबानका कारण किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको बताउनुभयो। उहाँले प्रभावित किसानलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। साथै, भत्किएको बाँध तत्काल मर्मत गरी नहरको पानी नियन्त्रणमा ल्याउन र थप क्षति हुनबाट जोगाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने उहाँको आग्रह छ।
स्थानीयले वर्षायाममा यस्ता संरचनाको नियमित निरीक्षण र समयमै मर्मतसम्भार नगर्दा किसानले बारम्बार क्षति व्यहोर्नुपर्ने अवस्था आएको भन्दै दीर्घकालीन समाधानको मागसमेत गरेका छन्।

