वर्षाले प्रभावित बनायो काठमाडौं केन्द्रित मिटरब्याज पीडितको पैदल मार्च
रौतहट, २९ असार – काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा निरन्तर वर्षाका कारण प्रभावित बनेको छ। आइतबार राति रौतहटको चपुरस्थित धर्मशालामा बसेको टोली सोमबार बिहानै यात्रा अघि बढाउने तयारीमा रहे पनि मुसलधारे वर्षा र छाताको अभावका कारण केही समयका लागि मार्च स्थगित गरिएको छ।
मिटरब्याज पीडितकी अभियन्ता लक्ष्मी घिमिरेका अनुसार टोलीमा रहेका करिब १०० देखि १५० जनाका लागि छाताको व्यवस्था हुन नसक्दा यात्रा अघि बढाउन कठिन भएको छ। केही सहभागीसँग मात्रै छाता रहेकाले अधिकांश पीडित वर्षामा हिँड्न सक्ने अवस्थामा छैनन्।”हाम्रो समूहमा धेरै ज्येष्ठ नागरिक पनि हुनुहुन्छ। उहाँहरूको सुरक्षालाई ध्यानमा राख्दै छाताको व्यवस्था गर्ने प्रयास गरिरहेका छौं, तर अहिलेसम्म पर्याप्त सहयोग जुट्न सकेको छैन,” घिमिरेले बताइन्।
उनका अनुसार पछिल्ला केही दिनदेखि निरन्तर चर्को घाम र वर्षामा हिँड्नुपर्दा केही महिला सहभागी बिरामी परेका छन्। थप स्वास्थ्य जोखिम हुन नदिन अहिलेको वर्षामा केही समयका लागि यात्रा रोकिएको उनले जानकारी दिइन्।मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित पैदल मार्च सुरु गरेका हुन्।
सरकारसँग भएका सम्झौता कार्यान्वयन, मिटरब्याजसम्बन्धी फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठनलगायत ६ बुँदे मागसहित उनीहरू सिंहदरबार पुग्ने तयारीमा छन्। लगातारको पैदल यात्रा, चर्को घाम र वर्षाका कारण धेरै सहभागीको स्वास्थ्यमा असर परेको छ। कतिपयको खुट्टा सुन्निएको, फोका उठेको तथा घाउसमेत लागेको भए पनि उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।

