कोशी अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा डोजर, २६ सटर हटाइयो

विराटनगर, २९ असार – कोशी अस्पताल विराटनगरको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत अस्पताल प्रशासनले सोमबार डोजर चलाएको छ। अन्य संस्थाले निर्माण गरी व्यापारिक प्रयोजनका लागि भाडामा लगाएका सटरहरू भत्काउन बिहानैदेखि डोजर प्रयोग गरिएको हो।

विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको सरकारी जग्गामा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति तथा देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरी प्रयोग गर्दै आएका थिए। ती संस्थाले निर्माण गरेका सटरहरू तेस्रो पक्षलाई भाडामा लगाएर व्यापारिक प्रयोजनमा प्रयोग हुँदै आएका थिए। अस्पताल प्रशासनका अनुसार व्यापारिक प्रयोजनमा सञ्चालन भइरहेका २६ वटा सटर डोजर प्रयोग गरेर हटाइएको छ।

संरचना हटाउने क्रममा शान्ति–सुरक्षाका लागि मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको सुरक्षा टोली परिचालन गरिएको थियो। सम्भावित अप्रिय घटना रोक्न अस्पताल परिसरमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। यसअघि असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले कोशी अस्पतालको स्थलगत अनुगमन गर्दै सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना तत्काल हटाउन निर्देशन दिएका थिए।

मन्त्रीहरूको निर्देशनपछि अस्पताल प्रशासनले सात दिने सार्वजनिक सूचना जारी गरेको थियो। त्यसअघि असार ५ गते नै १५ दिने सूचना प्रकाशित गर्दै संरचना खाली गर्न आग्रह गरिएको थियो। अस्पताल प्रशासनले दिएको अन्तिम समयसीमाभित्र अधिकांश व्यवसायीले आफ्ना सामान हटाइसकेपछि सोमबार संरचना हटाउने कार्य अघि बढाइएको जनाएको छ।

Facebook Comments Box