इरान–अमेरिका तनाव चर्कियो : २ दिनमा १७० भन्दा बढी सैन्य केन्द्रमा अमेरिकी आक्रमण, होर्मुजलाई लिएर इरानको कडा चेतावनी
काठमाडौं, २६ असार – अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले पछिल्लो दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य केन्द्रमा हवाई आक्रमण गरेको जनाएको छ। सेन्टकमका अनुसार आक्रमणका लक्ष्यमा एयर डिफेन्स प्रणाली, ड्रोन भण्डारण केन्द्र तथा तटीय सैन्य अखडाहरू रहेका थिए।
यसको प्रत्युत्तरमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले होर्मुज स्ट्रेटमा अमेरिकी हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ। आईआरजीसीले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लीट मुख्यालय र कुवेतको अली अल–सलेम एयर बेससहित ८५ अमेरिकी सैन्य अखडामा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, यो दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण जारी रहे होर्मुज स्ट्रेटको अवस्था सामान्य हुन नसक्ने र त्यस मार्गमा निर्भर मुलुकहरूले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने चेतावनी इरानले दिएको छ। यसैबीच, उत्तरी इरानमा चीन र रुससँग जोडिएको रणनीतिक रेलमार्गको एक पुलमा अमेरिकाले क्रुज मिसाइल प्रहार गरेको पनि इरानी पक्षले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो शिखर सम्मेलनका क्रममा इरानसँगको युद्धविराम सम्झौता समाप्त भइसकेको र अब नयाँ सम्झौता नगर्ने बताएका छन्। यद्यपि, अमेरिकी अधिकारीहरूले कूटनीतिक समाधानको प्रयासस्वरूप इरानसँग प्राविधिक तहमा वार्ता जारी रहेको बताएका छन्। कतार र पाकिस्तानले दुवै पक्षबीच मध्यस्थताको प्रयास गरिरहेको जनाइएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले भने धम्की र सैन्य दबाबको वातावरणमा अमेरिकासँग कुनै वार्ता वा सम्झौता सम्भव नरहेको स्पष्ट पार्दै वासिङ्टनले अघिल्ला सम्झौताहरूको सम्मान गर्नुपर्ने बताएका छन्। तनावकै बीच इरानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको बिहीबार मशहदस्थित इमाम रजा दरगाहमा अन्त्येष्टि गरिएको छ। इरानी सञ्चारमाध्यमका अनुसार सात दिनसम्म चलेको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा डेढ करोडभन्दा बढी मानिस सहभागी भएका थिए।
उता, बिहीबार बुशहर आणविक केन्द्र आसपासका दक्षिणी क्षेत्रमा विस्फोटका आवाज सुनिए पनि अमेरिकी अधिकारीहरूले ती नयाँ आक्रमण आफूहरूले नगरेको स्पष्ट पारेका छन्। अमेरिकी सेनाले होर्मुज स्ट्रेटमा इरानको मात्रै नियन्त्रण नरहेको दाबी गर्दै त्यहाँबाट ८०० भन्दा बढी व्यापारिक जहाज सुरक्षित रूपमा आवतजावत गराइएको जनाएको छ।
यसैबीच, कतार र संयुक्त अरब इमिरेट्स (यूएई)ले कुवेत र बहराइनमा इरानले गरेको भनिएको मिसाइल आक्रमणको निन्दा गर्दै त्यसलाई अन्तर्राष्ट्रिय कानुनविपरीतको कदम बताएका छन्। जोर्डनले पनि आफ्नो आकाशमा प्रवेश गरेका इरानी मिसाइलहरू खसालेको दाबी गरेको छ।

