आज रातिदेखि तीन दिनसम्म वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा र हिमपातको चेतावनी
काठमाडौं, २६ असार – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि सक्रिय रहने जनाएको छ। केही स्थानमा भारी वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति सातै प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
भोलि शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। यस्तै, पर्सी शनिबार पनि मौसम बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपात हुन सक्नेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

