वर्षामा बिपी राजमार्ग बन्द भए आधा घण्टामै सञ्चालनमा ल्याइने
काठमाडौं, २६ असार – वर्षायाममा बाढीपहिरोका कारण पटक–पटक अवरुद्ध हुने बिपी राजमार्ग अब बन्द भए आधा घण्टाभित्रै सञ्चालनमा ल्याइने भएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएकाले विपद्का कारण सडक अवरुद्ध भए पनि छोटो समयमै खुलाइने जनाएको हो।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। केही दिनभित्रै पुनर्निर्मित ट्र्याकबाट पूर्ण रूपमा सवारी सञ्चालन गरिने तयारी भइरहेको उहाँले बताउनुभयो। विगतमा रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पटक–पटक बन्द हुने समस्या थियो। अहिले भने अधिकांश सडक साविककै ट्र्याकमा पुनर्निर्माण गरिएकाले यस्तो समस्या न्यून हुने अपेक्षा गरिएको छ।
हाल चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्र्याकबाट सवारी सञ्चालन भइरहेको छ। चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा र पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा राखेर त्यहाँ ग्राभेल बिछ्याउने तथा ठूला ढुङ्गा राख्ने काम भइरहेको कार्यालयले जनाएको छ। गत वर्षको असोजमा आएको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो।
त्यसपछि चार प्याकेजमा विभाजन गरेर पुनर्निर्माण सुरु गरिएको हो। क्षतिग्रस्त बर्खेखोला–पिप्ले ३.२ किलोमिटर सडकखण्ड जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पुनर्निर्माण भइरहेको छ। करिब दुई अर्ब ६३ करोड रुपैयाँको अनुदानमा निर्माण भइरहेको उक्त सडक दुई लेनको हुनेछ।
साथै, हाल रहेका पुलसँगै नयाँ पुल निर्माण गर्ने र पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना पनि अघि बढाइएको छ। धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बिपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु भएको हो।

