गुरुङ संस्कृतिको पहिचानले लमजुङको ग्रामीण पर्यटनलाई नयाँ उचाइ
लमजुङ, २४ असार – गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र आत्मीय आतिथ्यले लमजुङको ग्रामीण पर्यटनलाई नयाँ उचाइमा पुर्याएको छ। कुनै समय सामाजिक जीवनको अभिन्न हिस्सा रहेको रोधी संस्कृतिले अहिले होमस्टेमार्फत नयाँ स्वरूपमा पुनर्जीवन पाउँदै पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रलाई बलियो बनाइरहेको छ।
गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङमा भाषा, वेशभूषा, कला, संस्कृति, स्थानीय खानपान र परम्परागत जीवनशैलीलाई पर्यटनसँग जोड्ने अभियान पछिल्ला वर्षमा प्रभावकारी बनेको छ। आमा समूह, बाबा समूह, युवा क्लब, होमस्टे व्यवस्थापन समिति र स्थानीय पर्यटन समितिको सक्रियताले संस्कृति संरक्षण र पर्यटन विकासलाई सँगसँगै अघि बढाएको छ।
लमजुङमा ग्रामीण पर्यटनको संगठित सुरुआत क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँबाट २०५७ सालमा भएको मानिन्छ। त्यसयता भुजुङ, सिउरुङ, पसगाउँ, घनपोखरा, खासुर, राइनासकोट, काउलेपानी, इलामपोखरी, नाल्मा, छापामिम्प्रा, भुस्मे र घेर्मुलगायत गाउँमा पनि होमस्टे विस्तार हुँदै गएको छ।
समुद्री सतहबाट करिब दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमूना ग्रामीण पर्यटकीय गाउँका रूपमा परिचित छ। यहाँबाट अन्नपूर्ण, मनास्लु, लमजुङ र हिमालचुलीलगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ। परम्परागत गुरुङ बस्ती, स्थानीय परिकार, सांस्कृतिक प्रस्तुति र आत्मीय आतिथ्य यहाँका प्रमुख आकर्षण हुन्।
घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार होमस्टेले स्थानीयको आयआर्जन बढाउनुका साथै लोपोन्मुख संस्कार, संस्कृति, परम्परागत परिकार र सामुदायिक जीवनशैली संरक्षणमा महत्वपूर्ण योगदान दिएको छ। क्व्होलासोथर–४ स्थित भुजुङ गाउँ र मस्र्याङ्दी गाउँपालिका–३ को सिउरुङ गाउँ पनि गुरुङ संस्कृति र प्राकृतिक सौन्दर्यका कारण पर्यटकको रोजाइमा पर्न थालेका छन्।
सिउरुङका स्थानीय पूर्णबहादुर गुरुङका अनुसार पर्यटनसँग जोडिएपछि मौलिक संस्कृतिको संरक्षणप्रति समुदायको चासो बढेको छ। होमस्टेबाट किसान, हस्तकला व्यवसायी, स्थानीय उत्पादन गर्ने परिवार तथा अन्य साना उद्यमी पनि प्रत्यक्ष लाभान्वित भएका छन्।
पर्यटकलाई स्थानीय स्वादसँग जोड्न गाउँमा उत्पादन हुने कोदो, फापर, मकै, स्थानीय दाल, निउरो, च्याउलगायत मौलिक परिकार संरक्षण गरी पस्किने गरिएको छ। पसगाउँमा प्रस्तुत गरिने कृष्णचरित्र नृत्य, घाटु, झ्याउरे, सोरठी र सारङ्गीका सांस्कृतिक प्रस्तुति पनि पर्यटकका लागि विशेष आकर्षण बनेका छन्।
ग्रामीण पर्यटनको विकासमा महिलाको भूमिका उल्लेखनीय रहेको छ। अधिकांश होमस्टेमा आमा समूहले पाहुनाको स्वागत, स्थानीय परिकार तयारी, सरसफाइ तथा सांस्कृतिक कार्यक्रम सञ्चालनको नेतृत्व गरिरहेका छन् भने युवा पुस्ताले पर्यटन उद्यम, पथप्रदर्शन र डिजिटल माध्यमबाट प्रचारप्रसार गर्दै गाउँमै रोजगारी सिर्जना गर्न थालेका छन्।
क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार गाउँ–गाउँमा पर्यटकीय पूर्वाधार निर्माण, झरनाको संरक्षण तथा सौन्दर्यीकरण, पदमार्ग विस्तार र नयाँ गन्तव्यको विकासलाई प्राथमिकता दिइएको छ। दूधपोखरी जाने मेमेडाँडा क्षेत्रमा निर्माणाधीन पदमार्ग सम्पन्न भएपछि कास्की हुँदै मनाङ जोड्ने वैकल्पिक पदयात्रा मार्गका रूपमा विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
यद्यपि वर्षायाममा सडक अवरुद्ध हुने, गुणस्तरीय पूर्वाधारको अभाव, दक्ष जनशक्तिको पलायन तथा आधुनिक प्रभावका कारण मौलिक संस्कृतिमा परेको असर ग्रामीण पर्यटनका चुनौतीका रूपमा रहेका छन्। पर्यटन व्यवसायीहरूले पूर्वाधार विकास, प्रभावकारी प्रचारप्रसार र तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन्।
प्राकृतिक सम्पदा, गुरुङ संस्कृतिको मौलिकता, सफल होमस्टे अभ्यास, कृषि र पर्यटनबीचको अन्तरसम्बन्ध तथा स्थानीय समुदायको सक्रिय सहभागिताले लमजुङको ग्रामीण पर्यटनलाई थप सम्भावनायुक्त बनाएको छ। स्थानीय उत्पादनको ब्रान्डिङ, डिजिटल प्रचारप्रसार र सांस्कृतिक सम्पदाको संरक्षणलाई थप प्रभावकारी बनाउन सके पर्यटनबाट हुने आम्दानी र पर्यटकको बसाइ अवधि अझ वृद्धि हुने अपेक्षा गरिएको छ।

