विदेशी विश्वविद्यालयसँग सम्बन्धन भएका कलेजका लागि सरकारको नयाँ मापदण्ड

काठमाडौं, २५ असार – सरकारले नेपालमा सञ्चालनमा रहेका विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजका लागि नयाँ मापदण्ड लागू गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३’ स्वीकृत गरेसँगै सम्बन्धित सबै कलेजले नयाँ व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको हो।

नियमावलीअनुसार अब सम्बन्धन दिने विदेशी विश्वविद्यालय क्यूएस वर्ल्ड युनिभर्सिटी र्‍यांकिङ वा टाइम्स हायर एजुकेसन वर्ल्ड युनिभर्सिटी र्‍यांकिङ को शीर्ष एक हजारभित्र परेको हुनुपर्नेछ। त्यस्तै, सम्बन्धन प्राप्त कलेजले विश्वविद्यालय अनुदान आयोगबाट अनिवार्य रूपमा क्वालिटी एस्सुरेन्स एन्ड एक्रेडिटेसन (क्यूएए) प्राप्त गरेको हुनुपर्नेछ।

साथै सम्बन्धित विदेशी विश्वविद्यालय रहेको देशको मान्यता प्राप्त गुणस्तर सुनिश्चितता निकायबाट पनि क्यूएए वा सोसरहको मान्यता प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। नयाँ मापदण्डअनुसार प्रत्येक सेक्सनमा छात्रवृत्तिसहित अधिकतम ३५ जना विद्यार्थी मात्र भर्ना गर्न पाइनेछ भने एक शैक्षिक वर्षमा दुईभन्दा बढी इन्टेक सञ्चालन गर्न नपाइनेछ।

विदेशी लगानी भएका कलेजले कुल विद्यार्थी सङ्ख्याको २० प्रतिशत र स्वदेशी लगानी भएका कलेजले १० प्रतिशत विद्यार्थीलाई नेपाल सरकारले तोकेको मापदण्डअनुसार पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ। स्नातकोत्तर तह सञ्चालन गर्ने कलेजमा कम्तीमा तीन जना पीएचडी उपाधि प्राप्त पूर्णकालीन प्राध्यापक अनिवार्य हुनुपर्नेछ। साथै कुनै पनि कलेजले आठभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्न वा नयाँ भर्ना लिन पाउने छैन।

नियमावलीले एक कलेजले एकभन्दा बढी विदेशी विश्वविद्यालयको सम्बन्धन लिन नपाउने व्यवस्था पनि गरेको छ। हाल एकभन्दा बढी विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजले तोकिएको अवधिभित्र एउटा सम्बन्धन मात्र कायम राख्नुपर्नेछ भने बाँकी सम्बन्धन स्वतः खारेज हुनेछन्। शिक्षा मन्त्रालयले नियमावलीमा उल्लेखित सबै मापदण्ड अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्ने जनाएको छ। तोकिएको समयभित्र मापदण्ड पूरा नगर्ने कलेजको सम्बन्धन वा सञ्चालन अनुमति खारेज गरिने व्यवस्था गरिएको छ।

Facebook Comments Box