आज देशभर मनसुनी वायुको प्रभाव कमजोर, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, ८ साउन — देशभर अहिले मनसुनी वायुको प्रभाव कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको तुलनामा दक्षिणतर्फ सरेकोले प्रभाव कम भएको हो।महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदलीको अवस्था रहनेछ।

यी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत पहाडी भू–भागहरूमा पनि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहने र केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

विशेष गरी कोशी प्रदेशका पहाड र तराई क्षेत्र, तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। मौसमविद्हरूले सम्भावित भारी वर्षाका क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएका छन्।

Facebook Comments Box