२२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन सुरु

कास्की, २५ असार – कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजना २०७८ मङ्सिरमा निर्माण सुरु गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले निरीक्षण तथा परीक्षण सम्पन्न गरेपछि आयोजनाले उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालेको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिनुभयो।

उहाँका अनुसार आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनुका साथै आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ।

आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा काम निर्धारित समयमा सम्पन्न हुन सकेन। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँचमध्ये तीन वटा टावर वन क्षेत्रमा परेकाले आवश्यक अनुमति प्राप्त गर्न समय लागेको निर्देशक बरालले बताउनुभयो।

आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट करिब तीन हजार १०६ मिटर लामो सुरुङमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्‍याइएको छ, जहाँ ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएको छ। करिब पाँच अर्ब पाँच करोड रुपैयाँ लगानी रहेको आयोजनाले व्यावसायिक उत्पादन सुरु भएपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ।

सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। गत वर्षदेखि २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना व्यावसायिक उत्पादनमा आइसकेको छ भने अन्य आधा दर्जन आयोजना प्रारम्भिक तथा निर्माण चरणमा रहेका छन्।

Facebook Comments Box