नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा, थप सहकार्य विस्तारमा जोड
काठमाडौं, २४ असार – नेपालको आँखा उपचार सेवा तथा नेत्र शिक्षाको कम्बोडियाले उच्च प्रशंसा गरेको छ। कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयकी स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले नेपालको विशेषज्ञता र सेवाप्रति प्रशंसा व्यक्त गर्नुभएको हो।
थाइल्यान्डका लागि नेपाली राजदूत तथा कम्बोडियाका लागि गैरआवासीय राजदूत धनबहादुर ओलीसँग हालै भएको भेटमा सोफियाले असार २० र २१ गते कम्बोडियाको कम्पोङ चाम प्रान्तमा सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट ठूलो संख्यामा स्थानीय नागरिक लाभान्वित भएको उल्लेख गर्दै सफल आयोजनाका लागि नेपालको सराहना गर्नुभयो।
थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार उक्त शिविर नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल), कम्बोडियाली साझेदार संस्था तथा नेपाली राजदूतावासको संयुक्त सहकार्यमा सञ्चालन गरिएको थियो।भेटका क्रममा दुवै पक्षबीच आँखा उपचार तथा जनस्वास्थ्यका अतिरिक्त शिक्षा, कृषि, पर्यटन, आर्थिक तथा व्यापारिक सहकार्य विस्तारका विषयमा पनि छलफल भएको राजदूतावासले जनाएको छ।
राजदूत ओलीले कम्बोडियाको आँखा स्वास्थ्य सेवा सुदृढीकरणका लागि तालिम, प्राविधिक सहयोग तथा क्षमता अभिवृद्धिमा नेपाल सहयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले कम्बोडियामा यस्ता सेवाको उच्च माग रहेको उल्लेख गर्दै निकट भविष्यमा थप निःशुल्क आँखा उपचार शिविर सञ्चालन गर्न नेपाल इच्छुक रहेको जानकारी पनि दिनुभयो।
दुवै पक्षले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र कम्बोडियाको विश्वप्रसिद्ध सांस्कृतिक तथा धार्मिक सम्पदा अङ्कोर वाटबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा समेत जोड दिएका छन्। यसैबीच, नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग र थाइल्यान्डस्थित नेपाली राजदूतावासको समन्वयमा कम्पोङ चाम प्रान्तीय अस्पतालमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ।
शिविरमार्फत एक हजार दुई जना कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए। नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार सेवाग्राहीमध्ये ६४१ जना महिला र ३६१ जना पुरुष थिए। शिविरका क्रममा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको थियो।
साथै ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय अस्पतालमा सिफारिस गरिएको डा. मिश्रले जानकारी दिनुभयो। शिविरको उद्घाटन नेपाली राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गर्नुभएको थियो।

