आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं, २४ असार – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
देशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुन सक्नेछ।
मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा राति भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।
यस्तै, कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान, मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन र विभागबाट जारी हुने मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा पालना गर्न महाशाखाले आग्रह गरेको छ।

