प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदनदेखि विभिन्न विधेयकमाथि छलफल हुने
काठमाडौं, २४ असार – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा वार्षिक प्रतिवेदन पेस गर्नुका साथै विभिन्न विधेयकमाथि छलफल र निर्णयका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। कार्यसूचीअनुसार प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन सदनसमक्ष पेस गर्नेछिन्।
यस्तै, व्यवस्थापन कार्यअन्तर्गत विभिन्न विधेयकहरू संसद्मा प्रस्तुत तथा छलफलका लागि अघि बढाइनेछन्। कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नुका साथै उक्त विधेयक सदनमा टेबल गर्ने कार्यसूची रहेको छ। साथै, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि उहाँले प्रस्तुत गर्नेछिन्।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

