शुक्लाफाँटा आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडान सुरु
कञ्चनपुर, २३ असार – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित बस्तीमा जङ्गली हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्वचालित बत्ती जडान अभियान सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम (सांसद विकास कोष) अन्तर्गत शुक्लाफाँटा नगरपालिकाका जोखिमयुक्त क्षेत्रमा स्वचालित बत्ती जडान गर्न थालिएको हो।
प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री तथा प्रदेशसभा सदस्य बहादुरसिंह थापाले सोमबार बत्ती जडानका लागि आवश्यक सामग्री सम्बन्धित वडाध्यक्षलाई हस्तान्तरण गर्दै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्वाधारमा गरिएको लगानी दीर्घकालीन रूपमा प्रभावकारी हुने बताउनुभयो।
उहाँका अनुसार रातिको समयमा पर्याप्त उज्यालो हुँदा जङ्गली हात्तीको गतिविधि समयमै थाहा पाउन सकिने, स्थानीयवासीले सतर्कता अपनाउन सक्ने तथा जनधनको क्षति कम गर्न सहयोग पुग्नेछ। विकाससँगै नागरिकको सुरक्षा सुनिश्चित गर्नु जनप्रतिनिधिको दायित्व भएकाले जोखिमयुक्त क्षेत्रमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको उहाँले उल्लेख गर्नुभयो।
पूर्वमन्त्री थापाका स्वकीय सचिव ज्ञानेश्वर जोशीका अनुसार शुक्लाफाँटा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र १२ मा १०८ वटा स्वचालित बत्ती जडान गरिनेछ। जडानका लागि आवश्यक सम्पूर्ण सामग्री सम्बन्धित वडामा पुगिसकेको छ। बेदकोट नगरपालिकामा भने हात्ती प्रभावित क्षेत्रको पहिचानपछि बत्ती जडान गरिने उहाँले जानकारी दिनुभयो।
शुक्लाफाँटा–६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार हात्तीको आवतजावत बढी हुने स्थानलाई प्राथमिकतामा राखेर जडान भइरहेको छ। हालसम्म वडाका आठभन्दा बढी स्थानमा बत्ती जडान भइसकेको छ भने बाँकी काम दुई दिनभित्र सम्पन्न गरिनेछ। निकुञ्ज आसपासका बस्तीमा वर्षौंदेखि जङ्गली हात्तीले बालीनाली नष्ट गर्ने, घरगोठमा क्षति पुर्याउने तथा सर्वसाधारणमाथि आक्रमण गर्ने समस्या दोहोरिँदै आएको छ।
अन्धकारका कारण हात्तीको उपस्थितिबारे समयमै जानकारी नपाउँदा स्थानीयवासी उच्च जोखिममा पर्ने गरेका छन्। शुक्लाफाँटा–४ का स्थानीय करनसिंह ऐरका अनुसार स्वचालित बत्ती जडानपछि साँझदेखि बिहानसम्म जोखिमयुक्त क्षेत्र उज्यालो रहने भएकाले टाढैबाट हात्तीको गतिविधि देख्न सकिनेछ। यसले समयमै सुरक्षित स्थानमा जान, बालीनाली जोगाउन तथा सम्बन्धित निकायलाई सूचना दिन सहज हुने उहाँको विश्वास छ।
वडा नं. २ का नरेन्द्रप्रसाद जोशीका अनुसार यसबाट रातिको आवतजावत सुरक्षित हुनुका साथै विद्यालय, स्वास्थ्य संस्था र ग्रामीण सडक प्रयोग गर्ने नागरिकलाई समेत प्रत्यक्ष लाभ पुग्नेछ। स्थानीयवासीले कार्यक्रमलाई सकारात्मक कदमका रूपमा स्वागत गर्दै अन्य हात्ती प्रभावित क्षेत्रमा पनि विस्तार गर्नुपर्ने माग गरेका छन्। प्रदेश सरकारको बजेटमार्फत दुवै पालिकाका जोखिमयुक्त क्षेत्रमा ‘मेसवायर’ जडानको कामसमेत भइरहेको छ।

