तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइँदै २१३औँ भानु जयन्ती
तनहुँ, २३ असार – नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती उहाँको गृहजिल्ला तनहुँमा तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ। भानुभक्त जन्मस्थल विकास समितिको सोमबार बसेको बैठकले असार २७, २८ र २९ गते विभिन्न साहित्यिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत भानु जयन्ती मनाउने निर्णय गरेको हो। बैठक भानु नगरपालिकाका प्रमुख तथा समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो।
समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ। असार २८ गते भानुभक्तीय रामायण वाचन तथा पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि र स्रष्टाहरूको सहभागितामा विशेष कवि गोष्ठी सञ्चालन हुनेछ।
यस्तै, असार २९ गते बिहान आदिकवि भानुभक्तको शालिकमा माल्यार्पण गरी झाँकीसहित प्रभातफेरी निकालिने कार्यक्रम तय गरिएको छ। त्यसपछि कविता वाचन, भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष छलफल तथा भानु जन्मस्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारसम्बन्धी संवाद कार्यक्रम आयोजना गरिने लौडारीले जानकारी दिनुभयो।
बैठकमा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठलगायत वक्ताले भानु जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सबै पक्षको समन्वित प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
विसं १८७१ असार २९ गते जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यले संस्कृतको वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यलाई आमजनताको पहुँचमा पुर्याउन महत्त्वपूर्ण योगदान दिनुभएको थियो। उहाँ नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि तथा नेपाली भाषाका अमर विभूतिका रूपमा सम्मानित हुनुहुन्छ।
विसं १९२५ असोज ६ गते उहाँको निधन भएको थियो। प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति र वाल्मीकि रामायणको नेपाली अनुवाद उहाँका प्रमुख साहित्यिक योगदान मानिन्छन्। साहित्यकार मोतिराम भट्टले उहाँलाई पहिलोपटक ‘आदिकवि’को उपाधि प्रदान गर्नुका साथै उहाँका पाण्डुलिपि सङ्कलन गरी प्रकाशन गरेपछि भानुभक्तको साहित्यिक योगदान व्यापक रूपमा स्थापित भएको हो।

