ठमेलमा पाँच विदेशी महिला पक्राउ, अभद्र व्यवहार र अश्लील गतिविधिमा संलग्न रहेको आरोप
काठमाडौं, १८ असार – काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट अश्लील गतिविधिमा संलग्न रहेको तथा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा पाँच विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा चार जना युगान्डाका नागरिक र एक जना इन्डोनेसियाली नागरिक रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा सडकमा हिँडिरहेका स्वदेशी तथा विदेशी पुरुष पर्यटकलाई बाटो छेकेर अश्लील गतिविधिका लागि प्रस्ताव राख्दै दुःख–हैरानी दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार सम्झाइबुझाइ गर्ने क्रममा पक्राउ परेका महिलाले प्रहरीमाथि समेत अभद्र व्यवहार गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

