पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत भने घट्दै

पाल्पा, १८ असार – पाल्पामा पछिल्ला केही वर्षयता डिएपी (डाइ-अमोनियम फस्फेट) मलको माग बढ्दै गएको छ भने युरिया मलको खपत क्रमशः घटिरहेको तथ्यांकले देखाएको छ। कृषि सामग्री कम्पनी लिमिटेड, पाल्पा शाखाका अनुसार पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले किसानको डिएपीप्रतिको आकर्षण बढ्दै गएको संकेत गरेको छ।

शाखा प्रबन्धक सिर्जना पाण्डेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा दुई हजार मेट्रिक टन युरिया माग गरिएकामा एक हजार २९१.९५ मेट्रिक टन खपत भएको थियो। सोही वर्ष ६०० मेट्रिक टन डिएपी माग गरिएकामा ६३७.७० मेट्रिक टन खपत भएको थियो। पोटासतर्फ १२५ मेट्रिक टन माग हुँदा ९२.६५ मेट्रिक टन खपत भएको थियो।

आर्थिक वर्ष २०८१/८२ मा पनि युरियाको माग दुई हजार मेट्रिक टन नै रहे पनि यसको खपत घटेर एक हजार १८६ मेट्रिक टनमा सीमित भएको कम्पनीको तथ्यांक छ। उक्त वर्ष डिएपीको माग ६०० मेट्रिक टन रहेकामा ६३७ मेट्रिक टन खपत भएको थियो भने १५० मेट्रिक टन पोटास माग गरिएकामा ९२ मेट्रिक टन मात्रै खपत भएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ मा भने डिएपीको माग उल्लेखनीय रूपमा बढेर एक हजार मेट्रिक टन पुगेको छ। तर मागअनुसार आपूर्ति हुन नसक्दा हालसम्म ५७१ मेट्रिक टन मात्र प्राप्त भएको छ, जसमध्ये ४३६ मेट्रिक टन वितरण भइसकेको शाखाले जनाएको छ। यस्तै, चालु आर्थिक वर्षमा एक हजार ५०० मेट्रिक टन युरिया माग गरिएकामा हालसम्म एक हजार २८८ मेट्रिक टन प्राप्त भएको छ। त्यसमध्ये एक हजार २६० मेट्रिक टन खपत भइसकेको छ।

पोटासतर्फ १५० मेट्रिक टन माग हुँदा ११० मेट्रिक टन प्राप्त भएको र ८३ मेट्रिक टन वितरण भएको छ। शाखा प्रबन्धक पाण्डेका अनुसार धान रोपाइँको प्रारम्भिक चरणमा प्रयोग हुने भएकाले पछिल्ला वर्षहरूमा किसानको डिएपी मलप्रति आकर्षण बढेको हो। युरिया भने बालीको वृद्धि चरणमा प्रयोग हुने भएकाले यसको माग र खपत फरक समयमा हुने गरेको उहाँले बताउनुभयो।

उहाँका अनुसार सन्तुलित मल प्रयोगबारे किसानमा चेतना बढ्दै जाँदा युरियाको अत्यधिक प्रयोग पनि घट्दै गएको छ। रुप्से क्षेत्रका किसान छवि थापाका अनुसार पाल्पाको माडी फाँट क्षेत्रमा परम्परादेखि नै ढैंचा लगाएर हरियो मल प्रयोग गर्ने चलन रहेकाले धान खेतीमा युरियाको प्रयोग तुलनात्मक रूपमा कम हुने गरेको छ।

हरियो मलले माटोको उर्वराशक्ति कायम राख्न र उत्पादन वृद्धि गर्न सहयोग पुग्ने भएकाले किसानहरूले त्यसलाई प्राथमिकता दिने गरेका छन्। जिल्लाका १० वटै स्थानीय तहमा सूचीकृत सहकारी संस्थामार्फत स्थानीय तहको सिफारिसका आधारमा कृषि सामग्री कम्पनीबाट मल ल्याई किसानलाई वितरण गर्ने व्यवस्था रहेको छ।

Facebook Comments Box