चाडपर्व लक्षित बजार अनुगमन गर्ने तयारीमा कामपा

काठमाडौँ, ४ असोज – काठमाडौं महानगरपालिकाले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ। गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता ढिलो भएको बजार अनुगमन अब सुरु हुने तयारीमा रहेको कामपाले जनाएको छ। सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार हिन्दूहरूको महान् पर्व बडादसैँ नजिकिँदै गरेको भए पनि आन्दोलनका कारण बजार व्यवस्थापनका लागि अनुगमन अघि बढाउन नसकिएको थियो।

काफ्लेले भने, “कामपाले बजार अनुगमन गर्दा केन्द्रको टोली, सुरक्षा निकायसहितको सहभागिता रहने गर्छ। आन्दोलनका कारण संयन्त्रहरू सामान्य अवस्थामा नफर्किएका भएकाले अनुगमन आगामी सातादेखि मात्र सुरु हुनेछ।” अनुगमन टोली उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा सञ्चालन हुनेछ। टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान सुपथ बिक्री कक्षलगायत स्थानहरूमा अनुगमन गर्नेछ।

कामपाले अघिल्ला वर्षहरूमा सुपरमार्केट र खाद्य वस्तुको बिक्री अनुगमन गर्दै मूल्य, उत्पादन मिति, म्याद सकिने समय र अधिकतम मूल्यजस्ता विषयमा ध्यान दिने गरेको थियो। अनुगमनमा कमजोरी भेटिए वा उपभोक्तामाथि ठगी प्रमाणित भए कानुनअनुसार जरिवाना र कारबाही गरिने चेतावनी दिइएको छ।

महानगरले उपभोक्तालाई गुणस्तरीय र स्वच्छ सामान, सुपथ मूल्यका लागि आफैं पनि सचेत रहन आग्रह गरेको छ। अन्य समयमा समेत फुटफुट बजार अनुगमन गर्दै आएको कामपाले चाडपर्वमा भने नियमित ढंगले अनुगमन गर्ने परम्परा कायम राखेको जनाएको छ।

यसअघि वर्षायाममा पिउने पानीका जारको अनुगमन गर्दा मापदण्डविपरीतका करिब ३०० जार नष्ट गरिएको थियो। उपभोक्ताको गुनासोका आधारमा होटल र मिठाई पसलमा म्याद गुज्रिएका वस्तु भेटिएपछि रु दुई लाख जरिवाना गराइएको पनि कामपाले जानकारी दिएको छ।

Facebook Comments Box