वर्षासँगै पहिरो, मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडक अवरुद्ध

इलाम, १४ असार  – लगातारको वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो झरेपछि रातिदेखि नै सडक बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिएका छन्। उक्त सडक खण्ड पहिलेदेखि नै जोखिमयुक्त रहेको र वर्षात्को समयमा बारम्बार अवरुद्ध हुने समस्या दोहोरिँदै आएको उनले बताए।

सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातार लेदो खसिरहेकाले तत्काल ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ। हाल साना सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको प्रशासनले जनाएको छ। प्रजिअ ढकालका अनुसार, “गएरातिदेखि पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध छ। बिहानैदेखि एकतर्फी सञ्चालन गराउने प्रयास भइरहेको छ, तर केही समय लाग्न सक्छ।”

यस्तै, मेची राजमार्गकै रोङ गाउँपालिका–४, इलाम–झापा सीमाक्षेत्रमा ढिस्को खस्दा र दुईवटा रूख ढलेर अर्को खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त स्थानमा समेत सडक खुलाउने कार्य जारी छ। सडक अवरुद्ध भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापाका यात्रीहरू प्रत्यक्ष प्रभावित भएका छन्। विभिन्न जिल्लाबाट झापा जाने तथा झापाबाट पहाडी जिल्लातर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन्।

Facebook Comments Box