मुनोजको निर्णायक गोलमा कोलम्बियाको जित, नकआउट चरणमा प्रवेश
काठमाडौं, १० असार – ड्यानिएल मुनोजको दोस्रो हाफको निर्णायक गोलमा कोलम्बियाले फिफा विश्वकप–२०२६ अन्तर्गत डिआर कंगोलाई १–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा कोलम्बियाले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरे पनि गोलका लागि दोस्रो हाफसम्म प्रतीक्षा गर्नुपरेको थियो।
खेलको ७६औँ मिनेटमा जुआन क्वाटेरोको पासमा ड्यानिएल मुनोजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए। अन्ततः सोही गोल टोलीको जितका लागि निर्णायक बन्यो। कोलम्बियाले खेलभर डिआर कंगोमाथि दबाब कायम राख्दै अनेक अवसर सिर्जना गरेको थियो। लुइस डियाजले दुई पटक बल जालीमा पुर्याए पनि दुवै गोल अफसाइडका कारण मान्य भएनन्।
पहिलो हाफमा डिआर कंगोका गोलरक्षक लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै छ वटा महत्वपूर्ण बचाउ गरेका थिए, जसका कारण कोलम्बिया गोल गर्नबाट वञ्चित भएको थियो। खेलभर कोलम्बियाले १९ वटा प्रहार गर्दा नौ वटा लक्ष्यतर्फ रहेका थिए। तीमध्ये एमपासीले आठ वटा बचाउ गरेका थिए। यता, डिआर कंगोले आठ पटक प्रहार गरे पनि एउटा मात्र प्रहार लक्ष्यमा राख्न सफल भयो।
लगातार दोस्रो जितसँगै कोलम्बियाले समूह ‘के’ मा छ अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ। यसअघि पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको थियो। डिआर कंगोले भने प्रतियोगितामा पहिलो हार बेहोरेको छ। दुई खेलबाट एक अंक जोडेको टोली समूहको तेस्रो स्थानमा रहेको छ।
अब समूह विजेताको टुङ्गो लगाउन कोलम्बियाले अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछ। पोर्चुगलले उज्वेकिस्तानलाई ५–० ले पराजित गर्दै पहिलो जित हासिल गरिसकेको छ। पोर्चुगललाई नकआउट चरणमा पुग्न कोलम्बियाविरुद्ध बराबरीको नतिजा नै पर्याप्त हुनेछ। यता, डिआर कंगोले आफ्नो अन्तिम खेल उज्वेकिस्तानसँग खेल्नेछ। उक्त खेलमा जित हात पारेमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरण पुग्ने सम्भावना कायम रहनेछ।

