विश्वकप फुटबलः ब्राजिल र मोरक्को नकआउट चरणमा
काठमाडौँ, ११ असार – ब्राजिल र मोरक्कोले आ–आफ्नो अन्तिम समूह चरणका खेलमा जित निकाल्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेका छन्। समूह ‘सी’ अन्तर्गत मियामीमा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० गोलअन्तरले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो। तीन खेलबाट ब्राजिलले सात अङ्क जोड्यो।
समान सात अङ्क भए पनि हेड–टु–हेडको आधारमा मोरक्को समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। एटलान्टामा सम्पन्न अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ ले हरायो। ब्राजिलको जितमा भिनिसियस जुनियरले दुई गोल गरे भने मथेउस कुन्हाले एक गोल थपे। भिनिसियसले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।
खेलको ६०औँ मिनेटमा कुन्हाले गोल गरेपछि ब्राजिल ३–० ले अगाडि बढ्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा ब्राजिल सहज जितसहित नकआउट चरणमा प्रवेश गर्न सफल भयो। यस नतिजासँगै समूह ‘सी’ बाट ब्राजिल र मोरक्को अघिल्लो चरणमा पुगेका छन् भने स्कटल्यान्ड र हाइटीको विश्वकप यात्रा समूह चरणमै समाप्त भएको छ।

