११ महिनामा १० हजार ८४५ विद्युतीय सवारी आयात, रु २५ अर्बभन्दा बढी खर्च
काठमाडौं, १० असार – चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले रु २५ अर्ब ५५ करोड ९९ लाखभन्दा बढी मूल्यका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन (ईभी) आयात गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि जेठ मसान्तसम्म विभिन्न क्षमताका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका हुन्। आयात भएका सवारीमा ५० किलोवाटदेखि २०१ किलोवाटसम्म क्षमताका विभिन्न मोडेलका विद्युतीय गाडी समावेश छन्।
विभागका अनुसार समीक्षा अवधिमा ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय सवारी आयात भएका छन्। ती सवारीको कुल मूल्य रु पाँच अर्ब ६५ करोड रहेको छ। त्यसैगरी ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका छ हजार ३५७ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्। यी सवारीको आयात मूल्य रु १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार पुगेको छ।
विद्युतीय सवारीप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा आयातको मात्रा पनि निरन्तर वृद्धि भइरहेको देखिन्छ। पेट्रोलियम पदार्थमा निर्भरता घटाउने, सञ्चालन खर्च कम हुने तथा वातावरणमैत्री यातायातको विकल्पका रूपमा विद्युतीय सवारीको प्रयोग विस्तार हुँदै गएको छ।
सरकारले हरित ऊर्जाको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरिरहेका बेला पछिल्ला वर्षहरूमा विद्युतीय सवारीको आयात उल्लेख्य रूपमा बढेको छ। बजारमा विभिन्न ब्रान्ड र क्षमताका विद्युतीय सवारी उपलब्ध हुन थालेपछि उपभोक्ताको रोजाइ पनि ईभीतर्फ केन्द्रित हुँदै गएको व्यवसायीहरू बताउँछन्।

