रास्वपाको प्रथम महाधिवेशन आजदेखि, सम्पूर्ण तयारी पूरा
चितवन, ७ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ। शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनिष झाले भरतपुरस्थित गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक व्यवस्थापनको काम सम्पन्न भएको जानकारी दिनुभयो। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ले गर्ने कार्यक्रम तय गरिएको छ।
प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनका सबै तयारी सम्पन्न भएका छन्। रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको थियो। राजनीतिक, आर्थिक, संगठनात्मक तथा विधानसम्बन्धी प्रतिवेदनहरू तयार भइसकेका छन् भने केन्द्रीय समितिको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने संशोधित विधानसमेत अनुमोदन गरेको छ।
केन्द्रीय समिति १५१ सदस्यीय बनाउने प्रस्ताव
भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनमा लैजाने निर्णय गरिएको छ। सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीका अनुसार प्रदेश सभापतिहरूलाई पदेन सदस्य बनाउने व्यवस्था गरिएको छ। साथै पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधन प्रस्ताव गरिएको छ।
संशोधित प्रस्तावअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष (एक महिला अनिवार्य) रहने व्यवस्था गरिएको छ।
संशोधित विधानले १५१ केन्द्रीय सदस्यमध्ये ५१ जनालाई पार्टी सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ। खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय सदस्य चयन हुनेछन्। मनोनयन गरिने सदस्यहरू समावेशिताको आधारमा चयन गरिनेछन्। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने व्यवस्था प्रस्तावित विधानमा समावेश गरिएको छ।
तीन हजारभन्दा बढी प्रतिनिधिको सहभागिता
महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहनेछ। तीमध्ये ३०० प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी पार्टीका दुई महामन्त्रीलाई दिइएको छ। रास्वपाले हालसम्म पाँच लाख सदस्य पुर्याएको जनाएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठनात्मक अधिवेशन सम्पन्न गरिएको छ। त्यसैगरी छ प्रदेशका ६४ जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि चयन भइसकेका छन्।
मधेस प्रदेश तथा अधिवेशन हुन बाँकी रहेका १३ जिल्लाबाट भने तदर्थ समितिमार्फत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। पार्टी नेतृत्वका अनुसार महाधिवेशनले संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति, नयाँ नेतृत्व चयन तथा पार्टीको आगामी कार्यदिशा तय गर्ने विषयमा केन्द्रित रहनेछ। साथै विधान संशोधन, नीतिगत प्रस्ताव र समसामयिक राजनीतिक विषयमा पनि व्यापक छलफल गरिनेछ।

