नयाँ मतदातामा निर्वाचनको उत्साह

बैतडी, २७ कात्तिक – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने नयाँ मतदाताको संख्या उत्साहजनक देखिएको छ । गत असोज ९ गतेदेखि सुरु भएको नामावली सङ्कलन र अद्यावधिक अभियानअन्तर्गत हालसम्म ६१८ जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दका अनुसार दर्ता भएकामध्ये २०१ जना महिला र ४१७ जना पुरुष छन् । यस्तै अन्य जिल्लाबाट आएका दुई महिला र सात पुरुषको समेत बैतडीमा नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले जानकारी दिनुभयो ।

यसअघि बैतडीमा एक लाख ६१ हजार ३१२ जनाको नामावली दर्ता भइसकेको थियो । तीमध्ये ८२ हजार १२६ पुरुष, ७९ हजार १८४ महिला र दुई तेस्रोलिङ्गी मतदाता रहेका छन् । निर्वाचन आयोगले हाल अनलाइन प्रणालीमार्फत पनि नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।

आयोगको वेबसाइट www.election.gov.np मा गएर विवरण भरेपछि फारम प्रिन्ट गरेर जिल्ला निर्वाचन कार्यालयमा फोटो र फिङ्गरप्रिन्ट बुझाएपछि मात्र नामावलीमा अन्तिम दर्ता हुन्छ । जिल्ला निर्वाचन कार्यालयले यसअघि नाम दर्ता गर्न छुटेका सबैलाई तत्काल नाम दर्ता गराउन आग्रह गरेको छ ।

सोह्र वर्ष उमेर पुगेका र नेपाली नागरिकता प्राप्त गरेका नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने छन् । यद्यपि, मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।

Facebook Comments Box