नेपाल–चीनबीच पूर्वाधार, ऊर्जा, व्यापार र प्रविधिलगायत क्षेत्रमा सहकार्य विस्तारबारे छलफल

काठमाडौं, २ असार – नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता र संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। सहकार्यका क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलीकरण, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा जनस्तरका सम्बन्ध समावेश छन्।

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीबीच सोमबार बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको हो। उक्त अवसरमा दुवै देशका प्रतिनिधिमण्डलबीच मित्रता, सद्भावना र सहकार्यमा आधारित नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे सार्थक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाली पक्षले ‘एक चीन नीति’प्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनः व्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट पारेको छ। त्यस्तै चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ समर्थन दोहोर्‍याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण सहयोग रहने आश्वासन दिएको छ।

मन्त्रालयका अनुसार दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा आयोजनाको शीघ्र कार्यान्वयनप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। साथै बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा साझा चासोका विषयमा थप सहकार्य अघि बढाउने विषयमा पनि जोड दिएका छन्। वार्तापछि मन्त्री खनालले विदेशमन्त्री वाङ यीले सम्मानस्वरूप आयोजना गरेको रात्रिभोजमा सहभागिता जनाएका थिए।

यसअघि सोमबार नै परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गरेका थिए। भेटमा पार्टी–पार्टी सम्बन्ध तथा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।

त्यसैदिन मन्त्री खनालले बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गरेका थिए। उनले संस्थानका गतिविधि तथा त्रिभुवन विश्वविद्यालयसहित नेपाली संस्थासँग भइरहेको सहकार्यबारे जानकारी लिँदै विज्ञान तथा प्रविधिका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Facebook Comments Box