देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही भूभागमा गर्मी बढ्ने
काठमाडौँ, २७ जेठ -आज देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा तथा कर्णालीसहित सबै प्रदेशका हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

