तीन दशकदेखि पानी घट्ट सञ्चालन गर्दै श्रेष्ठ
बागलुङ, २७ जेठ – बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले विगत तीन दशकदेखि परम्परागत पानी घट्ट सञ्चालन गर्दै आउनुभएको छ। आधुनिक प्रविधिको विस्तारसँगै गाउँघरमा कुटानी–पिसानी मिलको प्रयोग बढे पनि उहाँको पानी घट्ट भने अझै स्थानीयवासीका लागि अन्न पिस्ने भरपर्दो माध्यम बनेको छ।
तीस वर्षअघि स्थापना गरेको पानी घट्टलाई नै मुख्य पेसा बनाउँदै आएका श्रेष्ठले अन्न पिसेबापत अन्न वा नगद दुवै लिने व्यवस्था कायम राख्नुभएको छ। उहाँका अनुसार एक पाथी अन्न पिसेको शुल्क पाँच मुठी अन्न वा १० रुपैयाँ लिने गरिएको छ। “तीस वर्षअघि आफैँले स्थापना गरेको पानी घट्ट अझै चलाइरहेको छु। घरखर्च र परिवारका लागि आवश्यक अन्न यहीबाट जुट्ने गरेको छ,” श्रेष्ठले भन्नुभयो, “पहिले खरले छाएको घट्ट अहिले जस्तापाताले छाएको छु। मकै पिस्ने र गहुँ–कोदो पिस्ने छुट्टाछुट्टै घट्ट सञ्चालनमा छन्।”
उमेर बढ्दै गए पनि परम्परागत पेसाप्रतिको लगावले आफूलाई निरन्तर सक्रिय राखेको उहाँ बताउनुहुन्छ। ग्रामीण क्षेत्रमा आधुनिक प्रविधिको पहुँच बढे पनि पानी घट्टजस्ता परम्परागत साधन अझै पनि दैनिक जीवनयापनको आधार बनेका छन्। पानीलाई पाइप वा काठको ढुङ्ग्रोमार्फत खसालेर त्यसको शक्तिले जाँतो घुमाई अन्न पिस्ने प्रविधिलाई पानी घट्ट भनिन्छ। स्थानीयस्तरमा सहज, सस्तो र वातावरणमैत्री भएकाले पानी घट्टको महत्व अझै कायम रहेको स्थानीयवासी बताउँछन्।

