हुरीले विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति
नवलपरासी, २७ जेठ – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मंगलबार अपराह्न वर्षासहित आएको हुरीले १७ वटा घर र दुई वटा गोठमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार हुरीका कारण विभिन्न घरका टिनका छाना उड्नुका साथै केही घरमा रुखका हाँगा खसेर क्षति पुगेको हो। केही कच्ची घरको पर्खाल चर्किएको छ भने एक घरको ब्लकको पर्खालसमेत भत्किएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार भोजबहादुर खनगाहा, मोतिराम खाती, धनिसरा सोमै मगर, पार्वती विक, रुपा विक, शेरबहादुर दराई, दीपेन्द्र ढेङ्गा, कान्छा कुमाल, गुनबहादुर दराई, नरबहादुर विक र ओमबहादुर कुमाललगायतका घरमा क्षति पुगेको छ। यस्तै, मनबहादुर राना र केमबहादुर विकका गोठमा पनि हुरीले क्षति पुर्याएको छ।
प्रहरीका अनुसार कमला कुमालको कच्ची घरको पर्खाल चर्किएको छ भने पार्वती विकको घरको एक कोठाको ब्लकको पर्खाल भत्किएको छ। केही घरमा रुखका हाँगा खस्दा सामान्य क्षति भएको बताइएको छ। हुरीबाट कुनै मानवीय वा पशुचौपायाको क्षति नभएको तथा कुनै परिवार विस्थापित हुन नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

