अध्ययनमा विदेशियो १४ अर्ब ३१ करोड
काठमाडौँ, ३१ भदौ – देशभित्रै विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संरचना रहे पनि अध्ययनका लागि विदेशिने क्रम घट्ने सट्टा अझै बढ्दै गएको छ । चालु आवको पहिलो महिनामा मात्रै विद्यार्थीहरुले अध्ययनका नाममा १४ अर्ब ३१ करोड रुपैयाँ विदेश पठाएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्षको तुलनामा यो खर्च अलि कम भए पनि रकमको बहिर्गमन अझै ठूलो छ । गत आवको सोही अवधिमा अध्ययनका लागि १४ अर्ब ९६ करोड खर्च गरिएको थियो । यस्तै, चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय २.८ प्रतिशत घटेर २१ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो व्यय २२ अर्ब ३२ करोड थियो ।
समीक्षा अवधिमा कुल सेवा आय भने १३ अर्ब ३९ करोड घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष सोही अवधिमा घाटा १५ अर्ब ६ करोड थियो । यद्यपि, भ्रमण आय भने १२.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा यो आय पाँच अर्ब ३८ करोड पुगेको छ भने गत वर्ष सोही अवधिमा चार अर्ब ७७ करोड मात्रै थियो ।

