रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै

काठमाडौं, १८ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै हुनुहुन्छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म भारत भ्रमणमा रहने कार्यक्रम तय भएको रास्वपाले जनाएको छ।

भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी रहनेछन्। रास्वपा प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुनेछन्। सभापति लामिछानेले भाजपा नेतृत्व, भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा उहाँले अयोध्याको समेत अवलोकन गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भेटघाट, छलफल तथा भ्रमण व्यवस्थापनका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको रास्वपाले जनाएको छ। रास्वपाले यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउन तथा दुई देशका राजनीतिक दलबीचको संवाद र समझदारी विस्तार गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा व्यक्त गरेको छ।

Facebook Comments Box