एक साताको लागि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थको कारोबारमा रोक
काठमाडौँ, २० मङ्सिर – जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक साताको लागि पशुपति क्षेत्रमा मासु, मदिरा र नसालु पदार्थको कारोबारमा रोक लगाएको छ। आगामी सोमबार (२५ मंसिर) परेको बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) लाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पशुपतिनाथ मन्दिर क्षेत्रको चार किल्ला तोकेर आज (बिहीबार) देखि मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थको कारोबार निषेध गरेको हो।
स्थानीय प्रशासनले बिहीबार एक सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर र मित्रपार्क (उमाकुण्ड) गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिण क्षेत्रभित्र मंसिर २७ गतेसम्म मासु, मदिरा र नसालु पदार्थ निषेध गरेको हो।
‘भगवान पशुपतिनाथ विराजित क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, साँस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले ती पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन समेत गर्न नपाउने गरी पूर्ण रुपमा रोक लगाइएको छ,’ सूचनामा भनिएको छ। कोही कसैले उक्त प्रावधानको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने चेतावनी पनि स्थानीय प्रशासनले दिएको छ।

